बागलुङ नगरपालिका : अख्तियारको उजुरीलाई बेवास्ता गर्दै विवादास्पद व्यक्तीलाई कर्मचारीमा छनौट

राम प्रसाद घिमिरे, बागलुङ । बागलुङमा सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि कर्मचारी छनौटमा विवादित व्याक्तिलाई छनौट गरेको घटना सार्वजनिक भएको छ ।

गत आर्थिक वर्षसम्म भिमपोखरा युवा क्लव द्वारा सञ्चालित परियोजनामा कर्मचारी छनौटमा नक्कली कागजात पेशगरेको भन्दै अख्तियारमा उजुरी परेकै व्याक्तिलाई बागलुङ नगरपालिकाले पुन: कर्मचारी मै छनौट गरि कानुनको उल्लंघन गरेको हो ।

चालू आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाको मातहतबाट सञ्चालन हुने परियोजना (सामी) को लागि पहुँचको आधारमा फेक डकुमेन्ट (झुटो कागजात) बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रुपमा छनौटमा गरेको छ । आप्रवासी श्रोतकेन्द्र परामर्शकर्तामा छनौट भएकी निर्मला कुमारी शर्मा गौतमले सिवाईसीमा काम नगरे पनि नक्कली कागज बनाई काम गरेको अनुभव पेश गरेको श्रोतले बताएको छ ।

गौतमको छनौट विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरामा ‘बागलुङ एनजिओ सिवाईसीले निर्मला गौतम भन्ने फेन्सी व्यापारिलाई सामाजिक परिचालनको अनुभव प्रमाणित गरि नक्कली सामाजिक परिचालनको काम बारम्बार गर्ने गरेको, त्यही अनुभवलाई बिवाईसीले आधार मानेर सामी परियोजनाको जागिरमा छनोट गरिएको’ भन्दै उजुरी परेको थियो ।

बागलुङ नगरपालिकाले उजुरीलाई कुनै वास्ता नगरी पहुँचका आधारमा छनौट गरेको भन्दै नगरपालिकाको चौतर्फी आलोचना भइरहेको छ ।गौतम पहिलो पटक छनोट भएको एक महिनामा नै बागलुङ नगरपालिकाले परियोजनाको अपनत्व ल्याउँदा कर्मचारीको अपनत्व भने अस्वीकार गरि पुनःविज्ञापन खुलाईएको थियो

बागलुङ नगरपालिकाले अपनत्व लिएपछि कार्यक्रम सांयोजक १, सामाजिक परिचालन अधिकृत १, आप्रवासी श्रोत केन्द्र परामर्श कर्ता २, मनो सामाजिक परामर्शकर्ता १, बित्तीय साक्षरता कर्ता १, रिटनिस स्वयमसेवक ३ जना कर्मचारी छनोट गरेको छ । त्यहि क्रममा गौतम दोस्रो पटक छनोट भएकी थिईन् ।

कर्मचारी छनोटमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल विज्ञका रुपमा सहभागि भएका थिए । उनले अख्तियारमा उजुरी परेको भए पनि दोषि प्रमाणित नहुँदासम्म योग्य भए जागिर खान सक्ने बताए । उनले यस विषयमा छानबिन गर्नु पर्ने र दोषि प्रमाणित भए कार्वाही हुनु पर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले फेक डकुमेन्ट बनाएको भन्ने कुरा आफुलाई थाहा नभएको बताए । उनले त्यसबारे हल्ला सुनेपनि आफुकहाँ उजुरी नपरेकाले ठ्याक्क थाहा नभएको बताए ।

सामी परियोजनाको स्वामित्व स्थानीय तहमा ल्याउँदा जैमिनी नगरपालिका र गलकोट नगरपालिकाले पूरानै कर्मचारीलाई निरन्तरता दिएका थिए तर काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाले नयाँ कर्मचारी भर्ना गरेका छन् । बागलुङ नगरपालिकामा सामी परियोजनाको कर्मचारी छनोटमा ढिलाई हुँदा साउन १ गतेदेखि कार्यालय समेत बन्द भएको छ । कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कर्मचारी छनोटका क्रममा लिखित परीक्षामा ४०, अन्तरवार्ता, शैक्षिक योग्यता, अनुभव, भूगोल गरि ६० अङ्कभार राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?