६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

हुमाकान्त पोखरेल गुल्मी, २४ भदौ ।

गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् । गत तीन बर्ष बर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएपनि ६१.६६ प्रतिशत नागरिक अझैपनि बीमाको पहुँचमा पुग्न सकेका छन् । तीन बर्षसम्म जिल्लामा जम्मा ३८.३३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।
०७८ को जनगणनाअनुसार जिल्लामा कुल दुई लाख ४६ हजार ५५८ जनसङ्ख्या छ । जसमध्ये ९४ हजार ५२९ जनाको मात्रै स्वास्थ्य बीमा गरिएको छ भने बाँकी एक लाख ५२ हजार २९ जनाको स्वास्थ्य बीमा हुन सकेको छैन । सरकारले गुल्मीमा ०७६ साल माघ २१ गतेदेखि स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तरगत तीन हजार पाँच सयमा एक परिवारका पाँच जनाको बीमा हुन्छ । उक्त रकमबाट बीमित कुनै पनि सदस्यलाई रोग लागेमा वा अकस्मात दुर्घटनामा परेमा एक लाखसम्मको उपचार तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुन्छ ।

आर्थिक बर्ष ०७६/७७ मा जिल्लामा तीन हजार आठ परिवारका सात हजार ८१७ नागरिकले स्वास्थ्य बीमा गराए । ०७७/७८ मा २१ हजार १५८ परिवारका तीन लाख ५८ हजार ८५० नागरिक स्वास्थ्य बीमाको कार्यक्रममा सहभागि भए । त्यस्तै आ.व. ०७८/७९ मा १५ हजार ९५२ परिवारका २८ हजार ३८० नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड, शाखा कार्यालय, गुल्मीका प्रमुख डेकेन्द्र बहादुर विष्टले जानकारी दिए ।

गुल्मी अस्पतालको तथ्याङ्कमा पनि कुल सेवाग्राहीमध्ये बीमा गरेका सेवाग्राही कम देखिन्छ । गत आर्थिक बर्षमा गुल्मी अस्पतालमा कुल ६९ हजार चार जनाले सेवा लिए । जसमध्ये २१ हजार छ सयले मात्रै बीमा गराएका थिए । जुन ३१.३० प्रतिशत मात्रै हो । बाँकी ६८.६९ प्रतिशत अर्थात ४७ हजार ४०४ सेवाग्राहीले बीमा नगरेको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । अस्पतालले स्वास्थ्य बीमा नभएका १२ वटा लक्षित समुहको लागि सामाजिक सेवा इकाईमाफर्त निःशुल्क वा बिरामीको प्रकृतिअनुसार उपचारमा छुट दिदैँ आएको छ । उक्त कार्यक्रमअन्तरगत गत आर्थिक बर्षमा ९७४ जनाले आठ लाख २१ हजार ८९३ रुपैँयाको सेवा लिएका छन् ।

अस्पतालमै गत आर्थिक बर्षमा बीमित सेवाग्राही र बीमा नगरेका सेवाग्राहीबीचको सेवाको शुल्क भने ठिक उल्टो छ । कुल सेवाग्राहीमध्ये ३१.३० प्रतिशत सेवाग्राहीले चार करोड ७३ लाख ७८ हजार ४५३ रुपैँयाको सेवा लिएका छन् भने ६८.६९ प्रतिशत सेवाग्राहीले एक करोड २४ लाख १८ हजार ६८३.२५ रुपैँयाको सेवा लिएका छन् । अस्पतालका लेखापाल भिम खनालले बीमित सेवाग्राहीले सबै प्रकारका सेवा लिन खोज्दा रकम बढी आएको बताए । गुल्मी जिल्लाभर ९३ जना स्वास्थ्य बीमाका कार्यक्रता छन् । बीमा गराएबापत बीमा कार्यक्रताले निश्चित रकम पनि प्राप्त गर्दछन् । तर तीन बर्षमा जिल्लामा ज्यादै न्यून सङ्ख्यामा मात्रै नागरिक स्वास्थ्य बीमाको कार्यक्रममा सहभागि भएका छन् । स्वास्थ्य बीमा बोर्डका प्रमुख विष्टले सम्बन्धित पालिकाहरुले बीमासम्बन्धि सचेतना कार्यक्रम बढाएमा बीमित नागरिकको सङ्ख्या थप हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?