गुल्मेलीमा सडक समृद्धिको आशाः कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

 

टोपलाल अर्याल, गुल्मी। कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन् । करिडोरले गुल्मी पुर्वका रुरु, सत्यवति र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ । दुई ठुला धार्मिक तथा पर्यटकीय क्षेत्र लुम्बिनी र मुस्ताङ जोड्ने करिडोर गुल्मेलीको करियर पनि हो ।

उत्तरको चिन र दक्षिणको भारतका धार्मिक पर्यटकका लागि करिडोर ठुलो गन्तव्य मार्ग हुनेछ । करिडोरले पर्यटकलाई लुम्बिनीको आनन्दता, पाल्पाको रानीमहलको मनोरञ्जन, गुल्मीको रुरु धामको स्नान र शालिकग्राम शिलाको दर्शन गराउँदै मुस्ताङ पुराउनेछ । भने गुल्मीको बिच भाग भएर पुर्व पश्चिम जोड्ने मदनभण्डारी राजमार्ग गुल्मेलीको अर्को समृद्धि मार्ग हो ।

यो राजमार्गले थुप्रै जिल्लासंग गुल्मी जोडिने छ । करिडोरको ४२ किलोमिटर र मदनभण्डारी राजमार्गको ३१ किलोमिटर सडक कालोपत्रेका लागि करिव सात अर्बको काम अगाडी बढेको छ ।

रिडी–हर्मिचौर कालोपत्रेको ६० प्रतिशत काम

कालिगण्डकी करिडोरको रिडीदेखि पालुङखोलासम्म ४२ किलोमिटर पर्छ । अहिले रिडी–रुद्रवेणी–हर्मिचौरको २१ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडी बढेको छ । शर्मा सगुन जेभीले ५३ करोडमा १६ भदौ ०७७ मा सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो ।

अहिले सम्झौता अनुसारको ६० प्रतिशत काम भइसकेको कालिगण्डकी करिडोर (गौडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनीयर पवित्रमणी आचार्यले जानकारी दिए । कालोपत्रेका लागि आवश्यक पर्ने संरचनाको निर्माण भएकाले मौषम अनुकुल हुनेबित्तिकै काम अगाडी बढ्ने आचार्यले बताए ।

 

हर्मिचौर–बलेका कालोपत्रेका चार अर्व बढिको टेण्डर

कालिगण्डकी करिडोरको हर्मिचौर–बलेवासम्मको लागि चार अर्व सात करोडमा सडक कालोपत्रे गर्न टेण्डर आब्हान भएको छ । त्यो सडकखण्डको हर्मिचौर–पालुङखोलाको २१ किलोमिटर गुल्मीमा पर्छ । चुनाव लगत्तै हर्मिचौर–पालुङखोला सडक कालोपत्रेको काम पनि हुने सूचना अधिकारी आचार्यले जानकारी दिए । कालिगण्डकी करिडोर (गौडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालयका अनुसार कालिगण्डकी करिडोर अन्तरगत गुल्मी खण्डको ४२ किलोमिटरभित्र नौ वटा पुल पनि रहेका छन् । जसमा तालखोला पुलको काम सकिएको छ । चौरीखोलाको पुल निर्माणाधिन अवस्था रहेको कार्यालयले जनाएको छ । यो बर्ष बाँकी सात वटा पुलको काम पनि अगाडी बढ्नेछन् ।

सिमलटारी–मच्छी खण्ड कालोपत्रे लागि २ अर्ब

मदनभण्डारी राजमार्ग अन्तरगत गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छी खण्डको सडक पनि कालोपत्रेका लागि टेण्डर आब्हान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार सिमलटारी–मच्छी खण्डको ३१ किलोमिटर कालोपत्रे हुनेछ ।

कार्यालयको तर्फबाट दुई अर्ब बढिको टेण्डर आब्हान भएर मुल्यांकनको काम भएकाले दशै अघि सम्झौताको संभावना रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयकाका इन्जिनीयर शिवसरण तिमल्सेनाले जानकारी दिए । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

साढे १९ करोडका चार पुल निर्माण सुरु

मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकका विभिन्न चार खोलामा पुल निर्माण सुरु गरिएको छ । कालेपत्रे भएको लामो समयसम्म खोलामा पुल निर्माण नहुँदा नागरिक स्तरबाट आलोचना हुँदै आएको थियो । मदन भण्डारी आयोजना कार्यालय गुल्मीका अनुसार हुलाके, धनार्जी, घमिर र अर्जे खोलामा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार दुई सय रुपैयाँ दुई कम्पनीसँग कार्यालयले सम्झौता गरेको छ ।

हुलाके र धनार्जी खोलाको पुलका लागि सुनिल समिर निर्माण सेवा तथा अर्जे र घमिर खोला पुल निर्माणको लागि पन्थी निर्माण सेवाले सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीमा प्रमुख शशांक मिश्रले जानकारी दिए । उनले योजना कार्यान्वयनको चरणमा रहेपनि बर्षातले काम रोकिएको बताए । मिश्रले काम क्रमिक रुपमा अगाडी बढेपनि राजनैतिक क्रियाप्रतिक्रिया बढि भएको बताए ।

सडकले गाउँ–गाउँमा समृद्धिको लहर

तम्घास–सिमलटारी सडकको ट्रयाक निर्माण भएको साढे तीन दशक भए । द्धन्दको १० बर्ष सडक स्तरउन्नतीको केहि पनि काम भएन् । ०७२ सालमा सडक कालोपत्रेको काम भयो । जसका कारण बजारसंग गाउँ नजिक भए । यो सडकले प्युठान र गुल्मी मात्रै नभएर स्थानीय पालिकाहरुलाई समेत जोड्ने काम गरिरहेको छ ।

 

सडक कालोपत्रे भएसंगै गाउँको उत्पादन तम्घास तथा वुटवलका बजारमा पुग्न थाल्यो । जसले गाउँ–गाउँका युवा उद्यमीहरुले कृषिलाई व्यावसायीकरण गरिरहेका छन् । अहिले गाउँबाट जाने गाडीहरुले पनि सधै जस्तो छतहरुमा तरकारी र बाख्रा बुटवलका बजारमा पुराउन थालेको इस्मा गाउँपालिका ५ का अगुवा कृषक कृष्ण बिष्टले बताए । रेसुंगा, इस्मा, धुर्कोट, मालिका र मदानेका कृषकले सडक कालोपत्रे भएपछि सडकछेउँका जग्गाको भाउ बढाएका छन् । भने सडक किनारमा होटल, फेन्सी र विभिन्न किसिमका थोक तथा फुटकर व्यावसाय संचालन गरिरहेका छन् ।

 

तम्घासदेखि सिमलटारीसम्म करिव दुई सय बढि होटल तथा पसलहरु थपिकएको मालिका ८ का अगुवा टिका क्षेत्रीले बताए । करिडोरपछि रिडीमा थुप्रै होटल थपिएका छन् । भने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । कालिगण्डकी करिडोर कालोपत्रे हुने बितिकै संख्या दोब्बर हुने रुरु गाउँपालिका १ का युवा व्यावसायी सुन्दर कसजुले बताए । ‘करिडोर गुल्मेलीको भाग्य र भविष्य हो ।

 

करिडोरसंगै तीन मुखे पुलले पनि रुरु धाममा आकर्षण बढ्यो,’उनले भने,‘सडकसंगै नागरिकमा व्यावसायीकता भित्रिएको छ ।’ करिडोरको रिडीसंगै रुद्रवेणी, हर्मिचौरहुँदै पुर्तिघाटसम्म कृषि पशुपालन, होटल व्यावसाय र थुप्रै उद्यम तथा उद्यमी थपिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?