भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यकः डा. भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आउँदो चुनावबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

 

आज गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाण्डौमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रममा नेता भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आउँदो चुनावबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताउनुभएको छ ।

 

 

नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार नै रहेको बताउदै उहाँले अब जो सुकै भएपनि , जुन पार्टीको भएपनि ,जतिसुकै ठूलो भएपनि , मङ्सिर ४ गते यी तत्त्वलाई पराजित गर्नुपर्ने बताउनुभयो । युवालाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो ठूलो रोग भएको जिकिर गर्नुाभयो ।

 

नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरि युवालाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरूलाई चुनावमा नागरिकले पराजित गर्न आवश्यक भएको बताउनुभयो ।

 

डा. भण्डारीले नेपालले अहिले सात खर्ब रुपैयाँ विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब रुपैयाँ व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई नागरिकले चुनावमा चुन्नुपर्ने आवश्यक भएको बताउनुभयो । नेपाली राजनीतिमा बेइमान नेताहरू भएको उहाँको टिप्पणी छ । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उहाँले बताउनुभयो ।

 

 

नेता भण्डारीले देशलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आउँदो चुनावबाट बिदाइ गर्नुपर्ने बताउनु भयो । आउँदो चुनाव आफूले जिते गुल्मीलाई नमुना जिल्ला बनाउने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?