रुरुक्षेत्र गाउँपालिकाको १३ औँ अधिवेशन सम्पन्न

रुरुक्षेत्र गाउँपालिका गुल्मीको गाउँ सभाको १३ औँ अधिवेशन सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट गाउँ पालिकाको नगर प्रहरी सम्बन्धि ऐन २०७९ , गाउँपालिकाको साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ सँगै रुरुक्षेत्र गाउँ पालिकाको संसोधित बजेट विनियोजन सर्वसम्मत पारित गरिएको छ।

 

 

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष मिना गौतमले बिनियोजित बजेट प्रस्तुत गरेकि थिइन् भने गाउँ कार्यपालिका सदस्य दुर्गा घायलले नगरप्रहरी सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ लाई प्रस्तुत गरेका थिए।

 

 

प्रस्तुत गरिएका विषयवस्तुहरु माथि गाउँपालिकाका सभासद हरुबिच समान्य छलफल भएपछि सर्वसम्मत पारित भएको थियो ।

 

गाउँपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँपालिकाको सम्पत्ति सुरक्षा र सँरक्षण गर्ने लगाएतका ३६ बुँदामा समेटिएका कामकर्तव्य र अधिकार रहने गरि नगर प्रहरी सम्बन्धि ऐन २०७९ गाउँ सभाबाट पारित गरिएको छ ।

निजि तथा गैर सरकारी क्षेत्र सँगको साझेदारीमा शिक्षा ,स्वास्थ्य ,कृषि, पशुविकास, रोजगारी आयआर्जनको अवसर, पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा साझेदारीको माध्यमबाट सर्वसाधारणलाई सर्वशुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले यो ऐन बनाएको उल्लेख गरिएको छ।

 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले योजनाहरु निर्माण गर्दा लक्षित समुदायलाई ख्याल गर्दै दिगो हुनेगरी ध्यानमा राख्नुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट सक्ने भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

 

बिनियोजित बजेटलाई ठिक ठाउँमा सदुपयोग गरेर समयमै सम्पन्न गर्नुपर्ने बताउँदै उनले विकास निर्माणका कामहरुमा सबै प्रतिनिधिहरु चनाखो भएर गुणस्तरमा सूक्ष्म निगरानी गर्नुपर्ने बताए। सबैको साझा प्रयासबाट मात्रै विगतमा हुने गरेका र भोलिका दिनमा हुन सक्ने अनियमिततालाई रोक्न सकिने बताउँदै उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

 

गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य कार्यपालिका सदस्य कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?