आज श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइदै

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
आज श्रीपञ्चमी: प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाउने गरिन्छ । आज सूर्य उत्तरतिर लागि दिन लामो हुने र ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।

सरस्वतीलाई विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।

 

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ। विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन्। यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ। सरस्वतीलाई प्रीय लाग्ने सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि पुजामा चढाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?