पर्यटकहरू भित्र्याउनका लागि गुल्मीका गाउँगाउँमा पर्यटकीय पार्कहरू बनाइँदै

आन्तरिक एवं बाह्य पर्यटकहरू भित्र्याउनका लागि गुल्मीका गाउँगाउँमा पर्यटकीय पार्कहरू निर्माण भइरहेका छन्। स्थानीय तहहरूले प्रदेश, र संघ सरकारसँग सहकार्यसमेत गरेर पार्क निर्माणलाई तीव्रता दिइरहेका हुन्। बनेका र बन्दै गरेका पार्कले पर्यटकहरूलाई लोभ्याउँदै गएको छ।

सदरमुकाम तम्घास नजिकै पर्ने रेसुंगा नगरपालिका वडा नम्बर ८ मा निर्माणको अन्तिम चरणमा रहेको गर्जुरापार्क यस क्षेत्रकै नमुना पार्कको रूपमा रहेको छ। पवित्र तीर्थस्थल रेसुंगा जाने बाटो छेउमै निर्माण गरिएको पार्क पूर्णरूपमा सञ्चालनमा नआउँदै पर्यटकहरूको ओइरो लाग्ने गरेको छ। रेसुंगा नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा यहाँ नमुना पार्क निर्माण भइरहेको हो।

पार्क निर्माणका लागि कुल सात करोड रुपैयाँ बजेट विनियोजन भएको रेसुंगा नगरपालिकाका योजना शाखा प्रमुख विनोद मरासिनीले जानकारी दिए। ‘मन्त्रालयले ४ करोड १० लाख रुपैयाँ र बाँकी रकम नगरपालिकाले लगानी गर्ने योजना छ’ उनले भने। ‘नगरपालिकाको लागि यो गौरवको योजना हो।’
पार्कमा सानाठूला पिङ, बाल उद्यान, दूरबिन टावर, पिकनिक स्थल, भ्यु टावर निर्माण गरिएको छ। यहाँबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पार्कको ८५ प्रतिशत बढी निर्माणको काम पूरा भइसकेको योजना अधिकृत मरासिनीले जानकारी दिए। सदरमुकाम तम्घास र रेसुंगा आउने पर्यटहरूलाई घुम्नका लागि यो प्रमुख गन्तव्य बन्न सक्छ।

जिल्लाको अर्को महत्वपुर्ण पार्कको रूपमा धुर्कोट गाउँपालिकाले गाउँपालिका नजिकै बर्वोटमा सहिदशमशेर स्मृति पार्क निर्माण गरेको छ। राजनीतिक आन्दोलनमा देशको परिवर्तनका लागि जीवन आहुति गर्ने गुल्मीका सहिद शमशेरबहादुर खत्री, खिमविक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतिमा झन्डै दुई करोड रुपैयाँमा पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो।

पार्कमा तीनै जना सहिदहरूको शालिक निर्माण गरिएको छ। ‘निर्माणको काम अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो ५० लाख रुपैयाँबराबरको यस वर्ष लाइटिङ र पर्खाल लगाउने काम भइरहेको छ, केही महिनाभित्र सबै काम पूरा हुन्छ।’
पार्कले बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई घुमफिरका लागि धेरै सहज बनाएको पोखरेलले बताउनुभयो। यसको व्यवस्थित सञ्चालनका लागि सहिद शमशेर स्मृति पार्क सञ्चालन कार्यविधि २०७८ बनाइएको छ। गाउँपालिकाले आफ्नै स्रोतमा पार्क बनाएको हो।

मालिका गाउँपालिकाले गाउँपालिका केन्द्र अर्खावाङमा मालिका पिस पार्क निर्माण गरेको छ। लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको बराबरी लगानीमा पार्क निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका प्रशासन तथा योजना शाखा प्रमुख असर जीसीले बताउनुभएको छ।

आर्थिक वर्ष २०७६÷०७७ देखि पार्क निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्षमा एक करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको जीसीले जानकारी दिए। यसको निर्माण कार्य पूरा हुँदासम्म झन्डै तीन करोड रुपैयाँ खर्च हुने विस्तृत परियोजना प्रतिवेदन डीपीआर मा उल्लेख गरिएको छ।

बाह्रे महिना चिसो मौसम भइरहने यस क्षेत्रमा गर्मी छल्नका लागि पर्यटकहरू पुग्ने स्थानीयको आशा छ। शान्त, मनोरम र हिमशृंखलाको आनन्द यस पार्कबाट लिन सकिन्छ। यो पार्क सालझण्डी–ढोरपाटन सडक छेउमै पर्छ। गाउँपालिकाले यस योजनालाई आफ्नो गौरवको योजनाको रूपमा राखेको छ।
गुल्मीको उत्तरी क्षेत्रमा रहेको सत्यवती गाउँपालिकाले वडा नम्बर ८ स्थित भार्सेको देउराली डाडाँमा बौद्ध स्तूपा निर्माण गरेको छ। पर्यटक तान्नका लागि यहाँ टिकटक, आइलभ र चन्द्रमाको चिह्नअंकित ‘स्टयान्ड’समेत निर्माण गरिएको छ।
भार्सेमा मगर जातिको बाहुल्य छ। बौद्ध स्तूपा रहेको यस ठाउँ समुन्द्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा पर्छ। यस नजिकै फन पार्कसमेत निर्माण गरिएको छ। यहाँबाट पनि हिमशृंखलाहरू देख्न सकिन्छ।

गुल्मीदरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको सिमाना भुवनेडाँडामा आकर्षक मन्दिरसँगै पार्क निर्माण गरिएको छ। दुवै पालिकाको गरी ३० लाख रुपैयाँ बढी बजेटमा यहाँ मन्दिरसँगै पार्क बनाइएको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

मन्दिर नजिकै भँगारी भुवनेडाँडा दारेढुंगा पिकनिकस्थलमा बस्नका लागि थरीथरीका विश्रामस्थलसहितका छाताहरू, पकाउनेस्थल र कैयौं मनमोहक दृश्यसहितका स्थलहरू बनाइएको छ। त्यहाँबाट गुल्मीका विभिन्न डाँडाकाँडासहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पालगायतका ठाउँहरू हेर्न सकिन्छ।
गाउँगाउँमा निर्माण गरिएका पार्कहरूलाई स्थानीयको आयआर्जनसँग जोड्नका लागि ध्यान दिन स्थानीय सरकारलाई नागरिकले सुझाव दिएका छन्। पर्यटकीयस्थलहरू पछिल्लो समय स्थानीय सरकारको समेत आन्तरिक स्रोतको बाटो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?