रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने, भोली नेपाल एयरलाइन्स गुल्मी जाँदै

गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ ।

गुल्मेली जनताको लागी हवाई यातयातमार्फत देशको राजधानी जोड्ने कामका लागी साझीका रुपमा व्यवसायिक उडानको शुरुवात गर्ने गरी नेपाल वायुसेवा निगमसंग सम्झौता सम्पनन्न भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रतिरउडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ उडान गर्ने छ ।

त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रतिउडान र अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो । काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ ।

नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यहाँ उडानको तयारी गरेको थियो ।

तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको छ । रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दूरीमा अवस्थित यो विमानस्थल यस भेगकै पहिलो विमानस्थल हो ।

नियमित उडान सफल भएमा गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका याले सेवा पाउँछन । गुल्मीमा यसअघि इलाम र बागलुङमा अपनाइएको अवधारणामा उडान हुन लागेको हो । ती दुई विमानस्थलले भने नियमित यात्रु पाउन भने सकेनन । सोही कारण सम्झौता सकिएपछि त्यहा उडान समेत हुन सकेको छैन । गुल्मी विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । उनी अघिल्लो प्रतिनिधिसभामा यसै क्षेत्रमा प्रतिनिधि समेत थिए ।

यहाँ ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग बनेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन । यस्तो जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग छन । गत पुष २४ गते गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरको जहाजले सफल डेमो उडान गरेको थियो ।

जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा बनेको रेसुङ्गा विमानस्थलबाट पुस २४ गते आइतबार तारा एयरको नाइन एन एएलओ कलसाइन भएको जहाजले सफल परीक्षण उडान गरेको हो । गुल्मीको भाग्य र भविष्यसँग जोडिएको उक्त विमानस्थलमा आफुहरुको निरन्तर पहलका कारण उडान परीक्षण सफल रुपमा गरिएको रेसुगां नगरपालीकाका नगरप्रमुख खीलदोज पन्थीले बताएका थीए ।

डेमो उडानमा गुल्मीको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, प्रदेश सांसद डिल्लीराज भुसाल, सांसद धनेन्द्र कार्की, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीलगायतको समूह पनि तारा एयरमा काठमाडौंबाट आएको थियो ।

अनलाइनखबर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?