भारतबाट बढेर आयो ग्यासको मूल्य, पेट्रोल र डिजेलको घट्यो

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसी ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेको र डिजेल तथा पेट्रोलको घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।

अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्यासको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निमगलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ । लागत मूल्यअनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने निगमले गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?