आज काठमाण्डौसहित केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

 

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ ।

 

भोलि लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना देखिएको छ । अबको तीन दिन कतै कतै मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षा पनि हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
उज्यालोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?