ठूलाखर्क सेवा समाज रुपन्देहीले गर्‍यो ८० वर्ष नाघेका जेष्ठ अभिभावक सम्मान

बुटवल, २४ फागुन ।

ठूलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई बुधबार एक समारोहका बीच सम्मान गरेको छ ।

समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ११ जना जेष्ठ अभिभावकलाई सम्मान गरेको हो । अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठूलाखर्क स्थायी घर भइै विभिन्न पेशा व्यवसायको शिलशिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले समाज स्थापना गरेका हुन् । समाजले बुधबार जेष्ठ नागरिक सम्मानसँगै वार्षिकोत्सव मनाएको हो ।

 

 

सम्मानित हुनेहरुमा नारायण ज्ञवाली, जगन्नाथ ज्ञवाली, विष्णुकमारी ज्ञवाली, पुरुषोत्तम ज्ञवाली, नेत्रकुमारी ज्ञवाली, खुमानन्द ज्ञवाली, काशीनाथ ज्ञवाली, तुलसादेवी ज्ञवाली, द्रुपदादेवी ज्ञवाली, खगेन्द्रराज ज्ञवाली, राधिका ज्ञवाली रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी किशोर ज्ञवाली, समाजका अध्यक्ष टामलाल ज्ञवालीलगायतले दोसल्ला ओढाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

त्यस्तै समाजलाई महत्वपूर्ण सहयोग पु¥याउने सञ्जय ज्ञवाली र रामप्रसाद ज्ञवालीलाई विशेष सम्मान प्रदान गरिएको थियो भने शारीरिक रुपले अशक्त सूर्यप्रसाद ज्ञवालीलाई नगद र ह्वील चेअर प्रदान गरी सम्मान गरिएको थियो ।

 

 

त्यस अवसरमा बोल्दै समाजका संरक्षक किशोर ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए । समाजका संरक्षक मोहन ज्ञवालीले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उनीहरुमा भएका ज्ञान आदानप्रदान गर्न सके नयाँ पुस्ताले महत्वपूर्ण कुराहरु सिक्ने बताए ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीले वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने भन्दै उनीहरुको मार्गदर्शनबाट समाज अगाडि बढ्ने बताए ।

 

कार्यक्रममा समाजका सल्लाहकार हेमनाथ ज्ञवाली, सचिव किशोर ज्ञवाली, सहसचिव शोभा ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । समाजले विभिन्न समयमा सामाजिक र रचनात्मक कार्यहरु गर्दै आएको छ । कार्यक्रमका अवसरमा समाजले प्रकाशित गरेको २०८० सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?