बेनी-जोमसोम सडक खण्ड भोलिदेखि दैनिक छ घण्टा बन्द हुने

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रवार भोलिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले भोलिदेखि चैत १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायातको आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो ।

चैते दशैँको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ उहाँले भन्नुभयो पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए ।म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने गाडीले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक गाडीको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधवारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म गाडी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ । उज्यालोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?