धरौटी नतिरेपछि प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।

तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

गत मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा नेपालको तीन दशक लामो लोकतान्त्रिक यात्रामा कहिल्यै नदेखिएको दृश्य देखियो।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिँदा प्रहरीले उनीहरूलाई सासै फेर्न मुस्किल हुने गरी नाक–मुख थुनिदियो।

दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पुग्दा उद्‍घोषकले उनको सम्मान उठेर ताली बजाउन आग्रह गर्दै थिए। त्यहीबेला प्रधानमन्त्रीको नजिकै रहेका एक युवाले बैंकको मिटर ब्याज मुर्दावाद, बैंकको ब्याज मिनाह गर् भन्दै नारा लगाएका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिन लाग्दा अरू दुई युवा पनि नाराबाजीमा उत्रिएका थिए।

अचानक नाराबाजी भएपछि प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले तीनै जना युवालाई नियन्त्रणमा लिन खोजे। नारा लगाउनेहरूलाई नियन्त्रणमा लिएर भ्यानमा राख्दा प्रहरीहरूले अचम्मको शैली अपनाए, दुई–तीन जना मिलेर नारा लगाउनेहरूको मुख ट्याप्पै थुनिदिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल केही युवाहरूले असम्बन्धित कार्यक्रममा गएर जथाभावी नाराबाजी गरेपछि उनीहरूलाई पक्राउ गरिएको बताएक थिए । पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्। यस बिषयमा बिभिन्न सांसद तथा पार्टिका नेताहरुले गणतन्त्रमा पनि जनताको मुख ट्याप्पै थुन्न मिल्दैन भन्दै आपत्ती जनाएका थिए ।गणतन्त्रमा बोल्न पाउने सबैको अधिकार हुन्छ भन्दै धेरैले खण्डन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?