अनलाइनमा लगानी गर्दै हुनुहुन्छ ? ६४ लाख लगानी भयो खरानीःलगानीको नाममा काठमाडौंमा ठगी धन्दा चलाउँदै चिनियाँ

काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यस्तै उनीहरूसँग काम गरेको भन्दै १० जना नेपालीहरू पनि पक्राउ परेका छन्।

 

यसअघि पनि पटकरपटक चिनियाँ नागरिकहरू पक्राउ पर्थे। तर उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता नदेखिएको भन्दै छुट्थे। यसपालि भने उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता देखिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मनोजकुमार केसीले जानकारी दिए।

 

‘पहिले कल सेन्टरहरू चलाएको आरोपमा पक्राउ पर्दा उनीहरूको भूमिका कम देखिएको भन्दै छुट्थे। तर यसमा उनीहरूको प्रत्यक्ष संलग्नता छ,’ उनले भने, ‘मुद्दा नै चलाउन सक्ने आधारहरू छन्।’ एक जना पीडित आफू ठगिएको भन्दै कार्यालयको सम्पर्कमा आएपछि प्रहरी उनीहरूसम्म पुग्न सफल भएको हो।

 

केही समयअघि ह्वाट्सएपमा उनलाई एउटा मेसेज आएको थियो। सामान्यतस् ह्वाट्सएपमा चिठ्ठा पर्नेबारे मेसेज आउने गर्थ्यो। तर यो पटक लगानी गरेर मनग्य कमाउन सक्ने बारेमा आएको थियो। विभिन्न सामान किनबेच गर्ने अनलाइन शपमा लगानी गर्ने भनिएको थियो। लगानी गरेको रकमको ३० प्रतिशत फाइदा हुने भन्ने खालको मेसेजमा उल्लेख गरिएको थियो।

 

त्यही मेसेजको पछि लाग्दा पीडित पनि फस्दै गए। उनीहरूले अपरेसन टिचर नामको बेवसाइट बनाएका थिए। त्यस बेवसाइटमा गएपछि ‘रिडाइरेक्ट’ अर्थात् लिंकबाट अर्को टेलिग्राम मेसेन्जरमा जान्थ्यो। त्यहाँ गएपछि भने कसैले मेसेज गर्थ्यो। जसले लगानी कसरी गर्ने भन्नेबारेमा सिकाउने गरेको एसएसपी केसीले बताए।

 

‘उनीहरूले मेसेजबाटै लगानी के कसरी गर्ने हो, कति फाइदा हुन्छ भन्ने किसिमका कुराहरू च्याटमै सिकाउँथे,’ उनले भने। त्यसरी च्याट गरेर केही समयपछि लगानी गर्न तयार रहन उनीहरूले भन्थे। त्यसअनुसार नै उनीहरूले पीडितलाई रकम पठाउन लगाउने प्रहरीले जनाएको छ। पीडितले पनि सुरूमा ५० हजार रुपैयाँ लगानी गरेका थिए।

 

उनको लगानी गरेको पैसा र बेचेको सामान कहाँ छ भन्नेबारे पनि अनलाइनबाटै हेर्न सकिन्थ्यो। त्यसअनुसार उनले लगानी गरेको सामान अर्जेन्टिना पुगेको पनि देखायो। त्यसबापत उनले १५ हजार रुपैयाँ फाइदा भएको भन्दै फिर्ता पनि पाए।

 

‘पीडितले पाएको पैसा पनि उनकै थियो। तर उनलाई उक्त रकम फाइदाको हो भनिन्थ्यो,’ उनले भने, ‘त्यसरी पैसा पठाएपछि थप लगानी गर्न पनि उक्सिने भयो। त्यसैगरी लगानीको रकम बढाउँदै गरेर लाखौं १० देखि १२ लाख सम्म पनि पुर्‍याउने गरेको पायौं।’ ठूलो रकम लगानी गर्न थालेपछि पीडितलाई अर्को मेसेज आउने गरेको जसमा आफू प्रहरी अधिकारी भनेर चिनाउने गरेको एसएसपीले बताए।

 

‘प्रहरी अधिकारी हौं भनेर अर्को मेसेज आउने गर्दो रहेछ। यसरी अवैध रूपमा लगानी गरिरहेको रहेछौं। अब हामी पक्रिन्छौं भन्ने तरिकाले मेसेज गर्दा रहेछन्,’ एसएसपी केसीले भने, ‘यसो गरेपछि पीडित पनि तर्सिने भयो। अनि प्रहरीको सम्पर्कमा पनि आउँदैनन् भन्ने हिसाबले यो तरिका अपनाएको पायौं।’ यसरी ठगी गर्ने ‘मास्टरमाइन्ड’ चिनियाँहरू छन्। पक्राउ पर्नेहरूमा हुवाङ हुआनरोङ, छु फुसियाङ, लान झेङ्वे, जेइ गुओ यी, जेइ सुवाङ डी, गाओ मिङ, हउ पिङ भिङ, चेन दुर लिन र ली जियान होङ छन्।

 

उनीहरूलाई प्रहरीले बूढानीलकण्ठ महादेवखोला, चपली र चन्डोलबाट पक्राउ गरेको हो। उनीहरूले यी तीन ठाउँका घरमा भाडा लिएर यसरी ठगी गर्ने काम गर्थे। ‘पैसा आएको, गएको भन्ने जति पनि पीडितले सूचनाहरू पाउने गर्थे। ती सबै त्यही कोठामा बसेर उनीहरूले पठाउँथे। सामान यता पुर्‍याएको उता पुर्‍याएको भन्ने वास्तविक रूपमा त्यस्तो केही पनि हुन्थेन,’ एसएसपी केसीले भने।

 

नेपालीहरूलाई पनि विभिन्न काममा खटाएको उनले बताए। पक्राउ पर्नेमा पाँच जना पुरूष र पाँच महिला छन्। ठगी गर्नको लागि चार जना पुरूषको बैंक खाता प्रयोग भएको देखिन्छ। बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा र प्रयास भण्डारीको एनआइसी एसियाको खाता प्रयोग भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

 

उनीहरूले आफ्नो खाता प्रयोग गर्न दिएबापत मासिक १० हजार रुपैयाँ पाउँथे। उनीहरूको चार वटा खाताबाट मात्रै एक करोड ६४ लाखको कारोबार भएको देखिएको छ। अन्य १० वटा खातामाथि पनि अनुसन्धान गर्नुपर्ने एसएसपी केसी बताउँछन्। यद्यपि उक्त रकम कहाँ गयो भन्नेबारेमा पनि अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

अर्का एक जना पुरूष दोलखाका २६ वर्षीय अर्जुन श्रेष्ठ भने मध्यस्थकर्ताको भूमिका खेल्थे। उनले नै पैसा ‌ओसारपसार गर्नेदेखि खातावालाहरूसँग कुराकानी गर्ने गरेको प्रहरीले बताएको छ। ‘पीडित सम्पर्कमा आएपछि खाताबाट अनुसन्धान गर्दै गयौं। त्यसपछि अर्जुनसम्म पुगेपछि मात्रै चिनियाँहरू पनि संलग्न रहेको खुलेको हो,’ केसीले भने।

 

हिँडडुल गरिरहन पर्ने भएकोले अर्जुनलाई भने उनीहरूले स्कुटर पनि दिएको छ। अन्य पाँच जना महिलाहरूले भने लगानी कसरी गर्ने भन्नेबारे सिकाउँथे। टेलिग्राममा ती महिलाहरूले कुराकानी गर्थे। पक्राउ पर्ने महिलाहरू रविना सुनुवार, सुनिता गुरूङ, जमुना गोले, अनु गुरूङ र अनिता मगर छन्।

प्रहरीले उनीहरूको कार्यालयबाट कम्प्युटर, सिमकार्ड, पासपोर्ट, चार लाख नगद लगायत बरामद गरेको छ। उनीहरूमाथि ठगीसम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी गरेको छ। यसमा अन्य पीडितहरू पनि रहेको कार्यालयले बताएको छ। अन्य पीडितहरूसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?