वडाको धार्मिक भ्रमणले जेष्ठ नागरिक हर्षित, जनप्रतिनिधिको प्रशंसा

आर के कंडेल,चैत्र २६ गुल्मी।

गुल्मीदरबार गाउँपालिका वडा नं ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले चैत्र २४ र २५ गते ६८ वर्ष उमेर नाघेका ६० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो ।

वडा समितिको पहलमा भएको भ्रमण कार्यक्रम अन्र्तगत धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमण गरिएको थियो । उनीहरुलाई अर्घाखाँचीको
सुपदेउराली , भगवान गौतमवुद्वको जन्मस्थल लुम्बिनी , सिद्ववावा मन्दिर , पाल्पाको रानीमहल कालिगण्डकी
, भैरवस्थान मन्दिर अवलोकन गराईएको छ ।


भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई
निःशुल्क यातायातको ब्यवस्थापन सहित खाने बस्ने सुविधा तथा धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी
भएको बताएका छन् ।

उनीहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको
बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले वडाध्यक्ष लगायत सम्पुर्ण
जनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरे ।

उक्त भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडा नं का वडाध्यक्ष मुकेश थापाले बताए । अहिलेको व्यस्त समयमा घर
परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको
अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष थापाले बताए ।

नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय गुल्मी भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप गुल्मी मै पहिलो पटक दुइ दिने भ्रमणमा लागिएको हो , थापाले भने।

वडामा ६८ बर्ष माथिका १६६ जना जेष्ठ नागरिकहरु छन। वडाको बार्षिक बजेट बाट जेष्ठ नागरिक भ्रमण शिर्षकमा २ लाख बजेट विनियोजन गरिएको थियो ।

उक्त बजेट बाट बचत भएको रकम बाट अति असक्त तथा भ्रमण कार्यक्रममा सहभागि नभएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए ।

जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ ।जेष्ठ नागरिक समाजका गहना हुन् वडा सदस्य सुन्दर कुँवरले भने , बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको हो । ।

स्थायी घर गुल्मीदरबार गाउँपालिका वडा नं ६ भई हाल बुटवल पव्लिक स्कुलका संचालक हेमलाल भुषालले शनिबार विहान आफ्नै विध्यालयमा निशुःल्क खाजा नास्ताको ब्यवस्थागरेका थिए भने मिरा ट्रस्टको तर्फबाट प्रत्येकलाई एकएक वटा आधा किलोको च्यावनप्रास समेत प्रदान गरेका थिए ।

विभिन्न कामको शिलसिलामा बुटवलमा बस्दै आएका ६ नं वडाका रुपन्देहीमा संचालित विभिन्न संघ संस्था र सामाजिक
ब्याक्तित्वहरुले आफ्ना बाबुआमा नाता गोताहरु र छरछिमेकी हरुलाइ वडा कार्यालयले धार्मिक भ्रमण
गराएकोमा वडा कार्यालयलाई प्रशंसा गर्दै जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरेका थिए ।

 

जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य रेशम प्रधान , विष्णु सुनार लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य इश्वरि परियार, सनुदेवी कार्की ,जेष्ठनागरिकहरुलाई यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी , टोल विकास संस्थाका स्वयंसेवकहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?