आहा छत्रकोट ! दुना टपरी, खादा, बाँसको मुढामा आत्मनिर्भर बन्दै

भुवन भुसाल, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिका दुनाटपरी, खादा, बाँसको मुढामा आत्मनिर्भर बन्दै गएको छ । पालिकाले स्थानिय महिलाहरुलाई लघु उद्यम तालिम दिएर स्थानिय स्तरमै उपलब्ध श्रोतसाधन बाट खादा, दुनाटपरी, मुढा लगायतका सामाग्री उत्पादन गरिरहेको छ । अब देखि छत्रकोट गाउँपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी संघसस्थाले प्लास्टिकका दुनाटपरी प्रयोग नगर्ने गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिए ।

गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत विभिन्न वडाका महिलाहरुलाई छुट्टाछुट्टै तालिम दिएको र उनिहरुबाट उत्पादित सामाग्रीको बजारिकरणको काम समेत गरिरहेको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको भनाई छ ।

सालको पातबाट निर्मित दुना टपरी, बाँस बाट बनेको बस्ने मुढा, ढाकाको खादा अब छत्रकोट आफैले व्यवसायीक रुपमा उत्पादन गर्न थालेको छ । छत्रकोट १ हुँगाका १२ जना महिलाहरुले व्यवसायिक रुपमा दुना टपरी उत्पादन गर्न सुरु गरेको वडा अध्यक्ष घनश्याम न्यौपानेले जानकारी गराएका छन । “गर्न चाहाने र स्थानिय सरकारले अलिकती सहयोग गर्दा थप उपलब्धि हाँसिल हुने देखेमा हामी हरेक किसिमका सहयोग गर्न तयार छौँ” वडा अध्यक्ष न्यौपानेले भने “काम गर्ने जोस जाँगर भए कोहि पछाडी पर्नु पर्दैन” । हुँगामा टपरी खुट्ने मेसिन समेत व्यवस्था गरिएको वडा अध्यक्ष न्यौपानेले बताए ।

 

छत्रकोट गाउँपालिकाको सभाहलमा आयोजित गरिबी निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम अन्तर्गत उद्यमीहरुको बजार सम्बन्ध बिकासका लागि अन्तर्कृया कार्यक्रममा उत्पादित सामाग्रीहरुको प्रदर्शन समेत गरिएको छ । बाँस स्थानिय उत्पादन भएपनी प्लास्टिकको रसी, पुरानो टायर खरिद गर्नुपर्ने भएकाले पारिश्रमिक बाहेक ३ सय ५० रुपैयाँ लागत लाग्ने दिगाम मौलिपुरकी लक्ष्मी पन्थले बताईन ।

अतिरिक्त समयको सदुपयोग गर्दै अब छत्रकोटका स्थानीयले आम्दानी गर्न सक्ने भएका छन अध्यक्ष पाण्डेयले भने । “घरेलु कार्यालय तम्घासको सहयोगमा छत्रकोट ५ मनभागमा १ महिना सिलाई कटाई एड्भान्स तालिम संचालन गर्यौ त्यसबाट १० जना उद्यमी उत्पादन हुनुभएको छ, हामी तालिमको लागि तालिम नभई व्यवसायिकता तर्फ लैजान प्रतिबद्ध छौं” वडा अध्यक्ष राम प्रसाद कंडेलले भने । पछि पालिकाले १५ दिन थप गरेको थियो । यहाका स्थानियलाई आम्दानी गर्न सक्ने बनाउन बाख्रा पालन तालिम ३० जनालाई १० दिन र ब्युटिपार्लर तालिम १२ जनालाई एकमहिना सम्म संचालन गरेको वडा अध्यक्ष कंडेलले जानकारी दिएका छन ।

प्रत्येक बर्ष १२० जनालाई तालिम संचालन गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत पुनले बताए । संचालन गरिने तालिम मागको आधारमा हुने पुनको भनाई छ । त्यस्तै छत्रकोट गाउँपालिकामा आउने पाहुनाहरुलाई चिनीको चियाको सट्टा पालिकामा उत्पादित खुदोको चिया र पानी खुवाउने व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?