छत्रदेवले बचाएको पुर्खौली सम्पत्ती, जहाँ पुग्ने जो कोही लोभिन्छ


भुवन भुसाल, अर्घाखाँची । आजकाल बिकासको होड चलेको छ । बिकासको होड चल्दै गर्दा सार्वजनिक सम्पत्ती मास्ने होड पनी उत्तिकै देखिन्छ । नयाँ पुर्वाधार बनाउदै गर्दा पुरानो पुस्ताको पौरखले रोपेका प्रकृतीले हुर्काएका र समुदायले बचाएका चौताराका वरपिपल, पाँकुरी र स्वामी डोजर लगाएर ढालिदै गरेका दृष्य यत्रतत्र देख्न पाईन्छ ।

तर अर्घाखाँचीको छत्रदेव गाउँपालिका पुग्दा एउटा आनन्द लाग्ने दृष्य देख्न सकिन्छ। सन्धिखर्क तम्घास सडक ६ मिटर चौडा मापदण्डको बाटो हो । सन्धिखर्क देखी तम्घास सम्मकै सडक ६ मिटर चौडा छ । तर छत्रदेव गाउँपालिकाको वडा नं ५ को दोहोरा चौपारी पुग्दा करिव १५ मिटर जति बाटो भने जम्मा ४ मिटर छ । बिकासका नाममा प्रकृती मास्न नहुने भन्दै छत्रदेवले ति बोटहरु बचाउन यस्तो गरेको स्थानियको भनाई छ । बाटो सांगुरो तर त्यहाँ पुग्दा जो कोहिलाई रोकेर थकाई मारौं लाग्छ । कारण हो त्यहाँ सडकको दुबै तर्फ बनाईएका दोहोरा चौपारीमा ठुला ठुला स्वामी र पाँकुरीका बोट, एक्कैछिन थकाई मार्ने चौतारो पनि । ७ वटा बडेमानका रुखले त्यहाँ पुग्ने जो कोहिलाई आश्रय प्रदान गरिरहेका छन ।

जताततै यस्ता एतिहाँसिक बोट फडानी गरिरहने होडमा छत्रदेवले यसरी रुख बचाएको देखेपछी छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ संग जिज्ञासा राख्दा वहाँ भन्नुहुन्छ”पुराना सबै गलत हुन भन्ने मान्यता सहि होईन, यी हाम्रा सम्पदा हुन यस्ता सम्पत्ती हामिले पैसा खर्च गरेर पनि फेरि बनाउन सकिदैन” । वहाँले अगाडी थप गर्दै भन्नुभयो “बाटो केवल बाटोका लागी होईन, यो त मानवीय आवस्यकताको लागि हो, के मानिसलाई बाटो मात्रै भए हुन्छ ? यात्रामा मनोरञ्जन, आराम, सितलता चाहिँदैन ? अनि यस्ता बर्षौं पुराना सम्पदा मासेर बनाएको बाटोमा सितलता चाहिँ कहाँबाट पाउने तसर्थ यो ठाउँमा रहेका यी एतिहाँसिक बोट बचाईएको हो” ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार यी स्वामी र पाँकुरी श्रेष्ठ जान्ने हुँदा नै यत्रै थिए । यी बोट कति सालमा रोपिएका हुन भन्ने यकिन तथ्यांक छैन पनि ।

पुर्खाको सिर्जना र प्रकृतीको उपहार मास्ने होडका बीच छत्रदेव गाउँपालिका अर्घाखाँचीबाट अन्य स्थानिय तहले पनी पाठ सिके तिब्र गतिमा मासिदै गएको हाम्रो प्राकृतिक सम्पदा बचाउन मद्दत पुग्ने पत्रकार ईश्वरी बस्याल बताउनुहुन्छ । यी बोटहरुको संरक्षण गर्न छत्रदेव गाउँपालिकाको लगानीमा यसै आर्थिक वर्षमा व्यवस्थित चौपारी र यात्रुहरुलाई आराम गर्न प्रतिक्षालय समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?