छत्रकोटको हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना, ४९ जना किसान लाभान्वित

भुवन भुसाल, गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिकाको वडा नं १ हुँगा झेर्दिमा दूध संकलन केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा स्थापना गरिएको संकलन केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच उदघाटन गरिएको हो । कुल १६ लाख ७० हजार ८७ रुपैयाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा छत्रकोट गाउँपालिकाले १५ लाख लगानी गरेको हो । संकलन केन्द्र स्थापना गरिएपछि ४९ जना किसान लाभान्वित हुने छत्रकोट गाउँपालिका पशु शाखा प्रमुख टेक बहादुर खनालले जानकारी दिनुभयो ।

 

हुँगा झेर्दिमा स्थापना गरिएको संकलन केन्द्रको चिलिङ्ग भ्याटमा दूध खन्याएर गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पाण्डेयले देश आर्थिक संकटउन्मुख रहेको उल्लेख गर्दै त्यो संकट टार्न उत्पानदमा जोड दिनुपर्ने बताउनुभयो । एकै गाउँका ४९ जना किसानले व्यवसायीक पशुपालन गर्ने कुराले आफू उत्साहित भएको बताउँदै अब यसलाई अझै फराकिलो बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष पाण्डेयले अहिले दैनिक २ सय लिटर संकलन भईरहेको र किसानको मेहनत, पालिकाको साथले निकट भविष्यमै ५ सय लिटर भन्दा धेरै दूध दैनिक उत्पादन हुनेगरी काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

 

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले संकलन केन्द्रको स्थापना भए संगै किसानको दुधको बजारीकरण र उचित मूल्य पाउने कुरामा बिस्वास व्यक्त गर्दै यसको निरन्तरताको शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा न १ का अध्यक्ष घनस्याम न्यौपानेले अहिले वडामा बिदेश जाने प्रक्रियामा रहेकाजहरु विभिन्न सिफारिस लिन आउने गरेको बताउँदै अब केही नयाँ नगरे युवा पलायन रोक्न नसकिने बताउनुभयो । वडा अध्यक्ष न्यौपानेले गाउँमा अवसर छ, सहयोगको लागि स्थानीय सरकार तयार छ भन्ने संदेश दिनेगरी काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

छत्रकोट पशु शाखा प्रमुख टेक बहादुर खनालले कृषि र पशुपालनको लागि सरकारले लगानी गर्ने तर किसानले नियमित नगर्दा समस्या हुने गरेको बताउँदै किसान पनी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

पुर्व वडा अध्यक्ष धातानन्द भण्डारीले दूध संकलन केन्द्र स्थापना भए संगै यहाँका किसानले पशुपालनमा अवसर देखुन र गाउँमै उत्पादनमा केन्द्रित बन्न सकुन भन्ने शुभकामना दिनुभयो । भण्डारीले किसानले पनि अनुदानका निम्ति नभई आम्दानीका निम्ति कृषि र पशुपालन गर्नुपर्ने र पालिकाले वास्तविक किसानलाई अनुदान प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै किसान उद्वव न्यौपानेले किसानले दूध उत्पादन गरेपनी बजारको समस्या रहेको, उचित मुल्यको लागि पालिकाले पहल गर्नुपर्ने, उन्नत गाईभैसीको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो ।

औपचारिक कार्यक्रममा झेर्दी पशुपालन समुहका अध्यक्ष रिषिराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष साबित्रा ज्ञवाली, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, वडा अध्यक्ष घनश्याम न्यौपाने, पुर्व वडा अध्यक्ष धातानन्द भण्डारी, छत्रकोटका लेखापाल प्रेम भण्डारी लगायत पार्टी प्रतिनिधि, कर्मचारी, स्थानिय किसानहरुको उपस्थितिमा संकलन केन्द्रको उदघाटन गरिएको हो ।

छत्रकोट गाउँपालिका वडा नं १ का वडा सदस्य जीवन भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पदम न्यौपानेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?