दशै तिहारको बिदामा घुम्नैपर्ने : रुरुक्षेत्रको गगनचुम्बि रुखमा विश्राम स्थल “ट्री हाउस” र “प्रेम कुवा”

भुवन भुसाल, गुल्मी । आजकालका युवा पुस्ताहरुमा समय मिल्यो कि घुम्न निस्किहाल्ने चलन बढ्दो छ । अहिले दशैं तिहारको बिदामा परदेश का साथै देशका विभिन्न भागबाट गाउँ गएको समय धेरैले घुमेर सदुपयोग गरिरहेका छन । कोहि घुम्नका लागी टाढाटाढा पुगिरहेका छन त कोहि नजिकैका पर्यटकिय स्थलमै रमाईरहेका देखिन्छन ।

गुल्मीमा पनि घुम्न लायक धेरै ठाउँहरु छन जस्ले हरेकको मन लोभ्याउँछन । हालै गुल्मीमा एक घुम्नैपर्ने स्थान बनेकोछ रुरुक्षेत्र गाउँपालिकाको थाम्किडाँडा । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अस्थायी केन्द्र बलेटक्सार बाट ३.५ किलोमिटर उत्तर तर्फ लागेपछी धोबिघाट पुगिन्छ । त्यहाँबाट ३ किलोमिटर उकालो लागेपछी पुगिन्छ थाम्किडाँडा ।

समुन्द्री सतहदेखी १४ सय ५० मिटरमा रहेको सुन्दर डाँडा पुगेपछी जो कोहिले जिवनको दुख बिर्सन्छ । कारण हो त्यहाँबाट देखीने धोबिघाटको फाँटमा झुलेको धान,उत्तरतर्फ देखीने अन्नपूर्ण र धौलागिरी हिमशृङ्खला । ७९ रोपनी क्षेत्रफलमा फैलिएको थाम्किडाँडामा हरियो जंगल, सुन्दर घाँसे मैदान, सिजनमा फुल्ने रातो लालिगुँरास, काफल र लोपोन्मुख फल घँगारी प्रकृतीको देन हो । शिद्द र भयरको पौराणिक मन्दिर, २ सय ७५ घनमिटरको पानी ट्यान्की त्यहाँका भौतिक संरचना हुन । तर यत्तिले मात्रै होईन थाम्किडाँडाको चर्चा त्यति बेलादेखी चुलियो जब त्यहाँ गगनचुम्बी सल्लाको बोटमा बन्यो ५५ फिट अग्लो ट्री हाउस र नजिकै प्रेम कुवा ।

घना रुखको टुप्पोमा फलामको गोल सिंडी चडेर पुगेपछी बनाईएको विश्राम स्थलमा पुगेपछी देखीने प्रेमकुवाले हरेक प्रेम जोडिलाई लालायित बनाउछ । “गुल्मी जिल्लाका घुम्न लायक रुरु, रेसुङ्गा, टिमुरे ताल, बिचित्र गुफा, संगै अर्को घुम्नै पर्ने ठाउँ थाम्किडाँडा बनेको छ” रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले भन्नुभयो ।

 

थाम्किडाँडालाई पर्यटकिय स्थान बनाउन गत आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले पर्यटन मन्त्रालयबाट ३५ लाख रुपैयाँ लगानी गरेको छ । ३५ लाख रुपैयाँमा त्यहाँ ट्री हाउस, त्यहाँ पुग्ने सिंडी र प्रेम कुवा निर्माण गरिएको हो । सोही आर्थिक वर्षमै लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय बाट बिनियोजित थप ५ लाखले सो क्षेत्रमा सार्वजनिक सौचालय समेत निर्माण गरिएको छ । सो क्षेत्रलाई बनभोज स्थल बनाउने योजनाको साथ यो वर्ष रुरुक्षेत्र गाउँपालिकाले ५ लाख लगानी गरेर सामुदायिक भवन, र सिंडीको स्तरोन्नती गरेको छ ।

 

बनभोज खानेहरु, साथीभाई घुम्नेहरु, पारिवारिक भ्रमण गर्नेहरु र प्रेमालापमा रमाउनेहरुलाई यो ठाउँ उपयुक्त गन्तव्य बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?