ग्रामीण बचत तथा ऋण सहकारीको २८ औं साधारण सभा तथा नवौं अधिवेशन जारी

भुवन भुसाल, गुल्मी । ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले २८ औं साधारणसभा तथा नवौं अधिवेशन जारी छ । छत्रकोट २ पल्लिकोट गुल्मीको सहकारीले आज एक भब्य समारोहका बीच अधिवेशन र साधारणसभा सम्पन्न गरेको हो । यस क्षेत्रकै अग्रणी सहकारीको रुपमा स्थापित सहकारीले हाल सम्म शेयर पुँजी १ करोड, ५८ लाख ९० हजार पुर्याएको छ भने बचत रकम ६ करोड ९८ लाख ८५ हजार ३८ रुपैयाँ पुर्याएको सहकारीका व्यवस्थापक शेषकान्त भुसालले बताउनुभयो । सहकारीले युवा स्वरोजगार ऋण २५ लाख लिएकोमा १६ लाख ६६ हजार ६ ६६ रुपैयाँ बाकी रहेको छ भने ऋण लगानी ७ करोड २० लाख २१ हजार ५४ रुपैयाँ रहेको व्यवस्थापक भुसालले बताउनुभयो । संस्थाको कुल सम्पत्ती ९ करोड ३६ लाख ९३ हजार ५ सय ३७ रहेको छ । हाल सहकारीमा १ हजार १ सय ६९ शेयर सदस्य आबद्ध भएका सहकारीका सचीव पदमपाणि न्यौपानेले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महेश्वर भण्डारीको अध्यक्षता र छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा उदघाटन र खुला सत्र सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष अनन्त पौडेल, पुर्व अध्यक्ष धातानन्द भण्डारी लगायत सहकारी संग सम्बन्धित व्यक्तिहरु र शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

गाउँपालिका अध्यक्ष पाण्डेयले सहकारीले हाल सम्म गरेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिदै अझै सबल बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष अनन्त पौडेलले सहरी क्षेत्रका सहकारी धरासायी बन्दै गएको बखत ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई दिलाएको बिष्वास, नयाँ र रचनात्मक काम गरिरहेको भन्दै हाल सम्मको नेतृत्वलाई बधाई दिनुभयो । पौडेलले आगामी नेतृत्वले यो बिष्वासलाई कायम राख्न सकोस भन्ने शुभकामना समेत दिनुभयो ।

सहकारीले बचतकर्तालाई ६ प्रतिशत ब्याज दिदै आएको छ भने ऋण लगानीमा १० प्रतिशत ब्याज लिंदै आएको छ।  नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । कार्यक्रम छत्रकोट ३ चोयगामा जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?