रुरु मेलामा जुवाको खाल, आयोजकको मिलेमतो, प्रशासनले पाउदैन चाल

गोबिन्द झाक्री, गुल्मी । रुरुक्षेत्र नेपालकै ४ धाम मध्यको एकधाम हो । गंगा स्नान र ऋषिकेशवको दर्शन गर्न माघ महिनामा दर्शनार्थीको घुईँचो लाग्छ, अझै सक्रान्तीका बेला लागेको मेला मा त झन रुरुक्षेत्रमा पाईलो राख्ने ठाउँ हुँदैन । तर त्यहीँ धार्मिक मेलामा खुलेआम जुवा खेलाईरहेका दृश्य देख्न सकिन्छ । माघे सक्रान्ती मेलामा लङ्गुरपुर्जा लगायतका जुवाजन्य खेलहरु खेलाईएको र मिलेमतो गरेर एक्कैछिन जिताए जस्तो बनाउने अनि पछि पैसा धुत्ने गरेको मेला हेर्न गएकाहरुको गुनासो छ ।

रमाईलोका लागि मात्रै साथीभाइ घरको आगनमा जुवा खेलेको भेटे प्रहरीले पक्राउ गरि मुद्दा  नै चलाउँछ तर सार्वजनिक स्थलमा खुलेआम जुवा खेलाउँदा भने प्रशासन मुकदर्शक बनेको रुरुक्षेत्र १ का वडा सदस्य सुशील श्रेष्ठले बताउनुभयो । “गत वर्ष यस्तै जनगुनासो आउँथ्यो वडाले भनेपछी बन्द हुन्थ्यो यो बर्ष त कसैले भनेको कसैले नमान्ने परिपाटी पो बस्यो कि” ? श्रेष्ठले प्रश्न गर्नुभयो । मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोभित थापाले भने आफुहरुले जुवा खेलाउने अनुमती नदिएको र आफुहरुलाई त्यस बिषयमा केही जानकारी नभएको बताउनुभयो । “हामी आफ्नै काममा ब्यस्त छौं, खेलेको देखेका पनि छैनौं यो बिषय प्रशासनले हेर्ने हो हामीलाई केही थाहा छैन” थापाले भन्नुभयो । तर मेला आयोजकले सामान्य व्यवसाय गर्नेलाई त पैसा लिएर स्टल वा जग्गा भाडामा लगाउँछ भने जुवा खेलाउनेका बिषयमा थाहा छैन भन्नू हास्यास्पद हुने स्थानियको भनाई छ ।

ईलाका प्रहरी कार्यालय रिडिका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले मनोरञ्जनात्मक खेल खेलाएको थाहा भएको भन्दै  जुवा एनको परिभाषा भित्र नपर्ने भएकाले आफुहरुले हेर्न नमिल्ने बताउनुभयो । क्लब आफैले स्टल उपलब्ध गराएर मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्न दिएको वहाँको जिकिर छ । जुवा एन भित्र पर्ने गरि ठूलो रकम लेनदेन हुनेगरी जुवा खेलाए आफुले कसैलाई नछाड्ने समेत वहाँले बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिका वडा नं १ का वडा अध्यक्ष नबराज बिक भने गंगा आरतीमा रहेकाले स्पष्ट कुरा हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?