छत्रकोटमा “स्मार्ट आमा” कार्यक्रम, कस्ता हुन्छन स्मार्ट आमा ?

भुवन भुसाल, गुल्मी । आमा पनि स्मार्ट ? तपाईलाई पनि “स्मार्ट आमा” शिर्षक पढेर अचम्म लाग्यो ? आमा त आमा नै हुन कस्तो स्मार्ट भन्ने पनि लाग्यो होला । तर अचम्म नमान्नुहोस पुरै पढ्नुहोस र आमाहरुलाई स्मार्ट बनाउने अभियानमा सहभागी हुनुहोस ।

गुल्मीको छत्रकोटले स्वास्थ्यका क्षेत्रमा नयाँनयाँ कार्यक्रम मार्फत आम नागरिकलाई स्वस्थ जीवन जिउन प्रेरणा र ज्ञान त दिएको छ नै संगैमा सेवा समेत थप गरिरहेको छ । फेरि छत्रकोटले स्मार्ट आमा कार्यक्रम मार्फत बच्चालाई गर्भदेखी नै स्वस्थ र आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव हुने कार्यक्रम अगाडि सारेको छ ।

के हो स्मार्ट आमा कार्यक्रम ?

छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख स्यामसुन्दर पोख्रेलका अनुसार स्मार्ट आमाको रुपमा छनोट हुन १ हजार दिनका आमाहरुलाई लक्षित गरि यो कार्यक्रम अगाडि ल्याएको हो । गर्भमा बच्चा बसेदेखी बच्चा २ वर्षको उमेर हुदा सम्म पूरा गर्नुपर्ने स्वास्थ्य सम्बन्धी सबै सेवाहरु लिए नलिएको मुल्यांकन गरि १ हजार दिनका आमाहरुलाई सबै सेवा लिन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले स्मार्ट आमा कार्यक्रम सुरु गरिएको हो । अनिवार्य सस्थागत प्रसुती सेवा लिएका आमाहरुले २० सुचक मध्य जसले बढी अंक प्राप्त गर्छ उहीँ स्मार्ट आमा कहलिनेछ र पुरस्कार समेत पाउने छ ।

स्मार्ट आमा बन्न के के गर्नुपर्छ त ?

गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको हुनुपर्ने छ भने गर्भवती भएको ३ महिना पछि जुकाको औषधी अनिवार्य खाएको हुनुपर्ने छ । छत्रकोट स्वास्थ्य शाखा कि सिनियर अहेव सपना टण्डनका अनुसार प्रोटोकल अनुसार कम्तीमा ४ पटक गर्भजाँच गरेको हुनुपर्ने छ भने गर्भवती अवस्थामा लगाउनु पर्ने टी डी खोप लगाएको हुनुपर्ने अनिवार्य गरिएको छ ।

आमा र बच्चा दुबैको स्वास्थ्यका लागि स्वास्थ्य संस्थामा प्रसुती भएको हुनुपर्ने छ भने गर्भ अवधी र सुत्केरी अवधीमा २२५ चक्की आईरन खाएको हुनै पर्ने टण्डनले बताउनुभयो । त्यस्तै गर्भअवधी र सुत्केरी अवधीमा २२५ चक्की क्यालसियम खाएको, बच्चाको जन्मतौल २.५ केजि भन्दा माथि भएको, प्रोटोकल अनुसार PNC Visit (उत्तरप्रसुती जाँच) ३ पटक पुरा १ गरेको, सुत्केरी पछिको पहेलो विगीती दुध बच्चालाई खुवाएको हुनपर्ने कुरालाई अनिवार्य गरिएको छ ।

अहिलेका आमाहरुले सौन्दर्यता बिग्रने भ्रमले पुर्ण स्तनपान नगराउने दृष्टान्तका बीच त्यो भ्रमलाई चिर्न छत्रकोटले पूर्ण स्तनपान गरेको र समयमै थप खाना सरुवात गरेको, बच्चालाई पूर्ण खोप  प्रोटोकल अनुसार लगाएको आमालाई स्मार्ट आमाको उपाधी दिने बताएको छ । तौल अनुगमन नियमित रुपमा प्रोटोकल अनुसार पुरा गरेको, प्रोटोकल अनुसार बालभिटा खुवाएको, बच्चालाई भिटामिन र जुकाको औषधी नियमित रुपमा खुवाएको ,बच्चाको तौल कम नभएको आमा स्मार्ट आमा बन्ने स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।

आमा र बच्चाको सरसफाई नियमित रुपमा राखेको, गर्भान्तर कम्तिमा २ बर्षको रहेको,आमा स्वस्थ र कुपोषित नभएको, धुम्रपान मध्यपान सेवन नगर्ने आमा स्मार्ट आमा बन्ने गरि छत्रकोटले नयाँ र रचनात्मक कार्यक्रम अगाडि सारेको हो । यी सबै सेवाहरु छत्रकोटका स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?