गुल्मीमा रुबेला दादुरा खोप अभियान संचालन हुँदै, छत्रकोटमा अभिमुखिकरण सम्पन्न

भुवन भुसाल, गुल्मी । राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेला खोप अभियान गुल्मीमा सुरु हुने भएको छ । यहीँ फागुन १६ गतेदेखी २० गते सम्म जिल्लाका पश्चिम तर्फका स्थानिय तहमा र २१ गते देखि २५ गते सम्म पुर्व तर्फका पालिकामा अभियान संचालन हुने भएको हो ।

 

आईतवार छत्रकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा खोप अभियान कसरी संचालन हुँदै छ र यसमा कसैलाई नछुटाउन कस्को के भुमिका हुन सक्दछ भन्ने बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । पालिका भित्रका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुलाई खोप अभियान सम्बन्धि जानकारी गराईएको छ ।

 

कार्यक्रमको सुरुमा संबोधन गर्दै स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले खोप एकपटक मात्र लगाएर पुर्ण नहुने भन्दै कसैलाई नछुटाएर ठिक समयमा लगाउन सके मात्रै रोग उन्मुलन गराउन सकिने भएकाले सबैको कृयाशिलता आवस्यक रहेको बताउनुभयो ।

गुल्मी जिल्लाका मालिका,मदाने,ईश्मा,धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा फागुन १६ गते देखि २० गते सम्म र २१ गते देखि २५ गते सम्म छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, सत्यवती,चन्द्रकोट, कालिगण्डकी गाउँपालिका र रेसुङ्गा नगरपालिकामा दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपती आचार्यले जानकारी गराउनुभयो ।

 

खोप नै दादुरा र रुबेला रोग विरुद्ध लड्ने अन्तिम अस्त्र भएको भन्दै ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई टाउको गनेर नै यो खोप लगाईने आचार्यले बताउनुभयो । खोप अभियानलाई सफल बनाउन जिल्ला भित्रका सबै स्वास्थ्यकर्मीलाई तालिम दिईसकिएको छ ।

अभिमुखिकरण पछि बोल्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष साबित्रा ज्ञवालीले कतिपय थाहा नभएका कुराहरु आफुहरुलाई अभिमुखिकरण कार्यक्रमले जानकारी गराएको भन्दै अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि समेत लाग्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । सामाजिक बिकास समिति संयोजक एवम् वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवालीले अभियानलाई प्रभावकारी बनाउन आफुहरु कृयाशिल भएर लाग्ने बताउनुभयो । कार्यक्रमको संचालन सिनियर अहेव सपना टण्डनले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?