कालीगण्डकीका नागरिकको सुझाव “विद्युत महशुल नागरिकले आफै तिर्न सक्छन, पालिकाले तिरिदिनु पर्दैन”

भुवन भुसाल, गुल्मी । गुल्मी कालीगण्डकीका नागरिक आफैले पालिकाले तिरिदिने विद्युत महशुलको आवस्यकता नरहेको बताएका छन । गाउँपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले यस्तो सुझाव दिएका हुन ।

गाउँपालिकाको १ मा आयोजित कार्यक्रममा एकजना प्रश्नकर्ताले नाम उल्लेख नगरी लिखित सुझाव राख्दै मासिक २०/३० रुपैयाँ तिर्न नसक्ने नागरिक नरहेकाले पालिकाले अनावश्यक रकम खर्च किन गरिरहेको छ भन्दै जिज्ञासा र सुझाव दिएका हुन ।


यो जिज्ञासा र सुझावको जवाफ दिंदै गाउँपालिका अध्यक्ष बेद बहादुर थापा मगरले नागरिक आफैले महशुल तिर्छौं भन्ने कुरा असाध्यै मनासिब रहेको बताउनुभयो । “युरोप अमेरिका तिर नागरिक कर तिर्न आतुर हुन्छन, हाम्रोमा कर छल्ने चलन छ, तर अहिले असाध्यै मनासिब कुरा आयो, २०/३० रुपैयाँ पालिकाले तिरिदिएर नागरिकको केही बच्ने होईन तर पालिकाको धेरै रकम जान्छ, वडा नं १ र २ ले सोच्नु पर्ने भयो” अध्यक्ष मगरले भन्नुभयो । कालीगण्डकी गाउँपालिकाको वडा नं १ र २ मा २० युनिट सम्मको विद्युत महशुल वडाले तिरिदिने गरेको छ ।

बिहिबार सम्पन्न सार्वजनिक सुनुवाईमा गाउँपालिकाले संचालन गरेका योजना,  भौतिक एवं सामाजिक बिकास, स्वास्थ्य शिक्षा, कालीगण्डकी करिडोर प्रभावित क्षेत्र र त्यसले पुर्याएको क्षति, किसानको लागि बीउ लगायतका बिषयमा जिज्ञासा उठेका छन ।

कार्यक्रममा उठेका जिज्ञासा र सुझावको बिषयमा अध्यक्ष मगर, उपाध्यक्ष मन्जु कुमारी दर्लामी, प्रशासकीय अधिकृत नरेश गिरि, वडा अध्यक्षहरु, बिषयगत शाखा प्रमुख लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?