रुरुक्षेत्र गाउँपालिकामा भोली रक्तदान कार्यक्रम हुँदै 

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पालिकाको नवनिर्मित प्रशासकीय भवनको प्राङ्गणमा रक्तदानका लागि पालिका भित्रका शिक्षक, कर्मचारी, महिला स्वयंसेविका तथा नागरिकहरुलाई सूचना प्रदान गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभएको छ ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा हुन लागेको रक्तदान कार्यक्रममा करिब सय जनाको रक्त सङ्कलन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । रक्त सञ्चार केन्द्र बुटवलबाट पालिका भित्रका नागरिकले परेको खण्डमा निःशुल्क रुपमा ब्लड उपलब्ध गराउने सम्झौता गर्ने पाण्डेले बताउनुभयो ।
यसैबिच भोली आइतबार हुने भनिएको प्रशासकीय भवनको उद्घाटन कार्यक्रम चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण भोली हुने भनिएको कार्यक्रम चैत ५ गतेलाई सारिएको उहाँको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?