
असोज १४ गुल्मी । गुल्मीको रुरुक्षेत्र ४ लेख गुफामा अवस्थित शृङ्गेश्वर तपोभुमी धाममा आयोजित धार्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । असार ३० गते देखी भाद्र १ गते सम्म संचालित दिव्य शृङ्गेश्वर मौन पुस्करिणी स्नान महोत्सवको खर्च विवरण आज एक समारोहका बिच सार्वजनिक गरिएको हो ।
महोत्सवमा कुल ५० लाख १५ हजार एकानब्बे हजार ५५ पैसा आम्दानी भएकोमा २५ लाख ७० हजार १ सय ९३ रुपैयाँ खर्च भई २४ लाख ४४ हजार ८ सय ९८ रुपैयाँ ५५ पैसा बचत भएको धाम व्यवस्थापन समितीका कोषाध्यक्ष पुष्पा फुङ्जालीले जानकारी गराउनुभयो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आय व्यय विवरण सार्वजनिक कार्यक्रममा धेरैको सहभागीता भएको भए सुनमा सुगन्ध हुने थियो भन्दै धार्मिक महोत्सव सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बचत रकमबाट केहि रकम मात्र अक्षयकोषमा राखेर अरु रकम मन्दिरको चालु खातामा राखेर नियमित कार्यमा खर्च गर्न सुझाव दिनुभयो । गौतमले मन्दिरमा नित्य पुजा र धार्मिक चहलपहलका कार्यक्रमहरु गर्न सुझाव दिंदै आफुहरुको तर्फबाट सबै सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
वडा नं ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठले महोत्सवको अपेक्षित सफलता हासिल गर्न सफल भएकोमा सबैलाई बधाई सहित धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो धाम गुल्मीको मात्र नभएर देशकै गौरव रहेकाले यो भुमीको थप प्रगतीको लागी सबै एकाकार भएर लाग्नुपर्ने धारणा समेत राख्नुभयो । श्रेष्ठले सस्थापक देखी निवर्तमान समिती सम्मले गरेको कामको स्मरण गर्दै सबैलाई समेटेर मात्र धार्मिक क्षेत्रको बिकाश संभव रहेको बताउनुभयो ।
कार्यक्रममा प्रगती प्रतिवेदन राख्दै धामका सचिव दामेन्द्र पाण्डेले महोत्सव सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै महोत्सवले धर्मको ज्योती बाल्न थप सहयोग गरेको बताउनुभयो ।
धाम व्यवस्थापन समितीका अध्यक्ष चुरामणी ज्ञवालीले सहयोगी सबैलाई धन्यवाद दिंदै बचत रकमको सदुपयोग गर्दै अध्यात्मिक कार्यक्रमहरुको माध्यमबाट तपोभुमीको थप प्रवर्द्दनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

