
भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्व नजिकिए संगै उपभोक्ताको स्वास्थ्य र व्यवसायीको सचेतना वृद्धि गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो।
पाण्डेका अनुसार अनुगमनका क्रममा म्याद गुज्रीएका खाद्य सामाग्री फेला परेका छन । त्यस्ता सामाग्री जफत गरिएको छ । अनुगमनका क्रममा दर्ता नगरी संचालन गरिएका पसलहरु पनि भेटिएको र त्यस्ता पसलहरुलाई एक हप्ताभित्र दर्ता गर्न समेत निर्देशन गरिएको छ ।
बुधबार गाउँपालिकाको वडा नं ४ शृङ्गा, पिपलनेटा र वडा नं ३ लुम्छाका किराना, फेन्शी, कस्मेटिक र औषधि पसलहरुमा अनुगमन गरिएको थियो । गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, गाउँपालिकाका कर्मचारी, शृङ्गा प्रहरी चौकी, नगर प्रहरी, संचारकर्मीको समेत सहभागितामा अनुगमन गरिएको हो ।

