सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

१० जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले गुरुङको बयान लिने भएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

उक्त समितिले आधा जति काम सकिसकेको छ । समिति स्रोतका अनुसार अब गुरुङमाथि बयान लिने काम अघि बढाइने छ । अहिलेसम्म समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको छ ।

छानबिन आधा जति सकिएकाले अब गुरुङको बयान लिने तयारी समितिले गरेको हो । ‘अब हामी प्रश्न उठेका विषयहरूमा माननीयज्यू (सुधन गुरुङ)सँग सोधपुछ गर्छौं।

समितिका अध्यक्ष भण्डारीका अनुसार गुरुङ मन्त्री भएका बेला उठेका विषयमा छानबिन गर्ने कार्यक्षेत्र तोकिएकाले अहिले त्यहीअनुसार काम भइरहेको छ ।

‘हाम्रो कार्यक्षेत्र भनेकै मन्त्री हुँदा उठेका विषयहरूको छानबिन गर्न प्रतिवेदन तयार गर्ने र सुझाव दिने भन्ने छ । सोहीअनुसार हामीले काम गरिरहेका छौं भण्डारीले भने ।

स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने

समितिले स्पष्ट किटान गरेर प्रतिवेदन बुझाउने बताएको छ । यसमा यस्तो, उस्तो, इफ, बटभन्दा पनि दोषी भए प्रष्ट रूपमा दोषी, निर्दोष भए स्पष्ट रूपमा यो कारण निर्दोष भनेर प्रतिवेदन बुझाइने समितिले जनाएको छ ।

समितिका अध्यक्ष भण्डारी भन्छन्, ‘हामी बोल्दैनौं । हाम्रो प्रमाण बोल्छ । डकुमेन्ट बोल्छ । स्पष्ट किटान गरेर कारण र प्रमाणसहित रिपोर्ट आउँछ ।’

उनका अनुसार हरेक विषयलाई तथ्य र प्रमाणसँग जुधाएर अध्ययनको काम भइरहेको छ । सफाइ पाउने भए पनि स्पष्ट रूपमै र गैरकानुनी वा कारबाही गर्नुपर्ने भए पनि प्रमाण र तथ्यसहित आउने भएकाले आम मान्छेले विश्वास गर्ने रिपोर्ट समितिले बुझाउने उनको दाबी छ ।

‘जसरी अदालतले स्पष्ट रूपमा कारण, प्रमाणसहित फैसला गर्छ, त्यसैगरी रिपोर्ट आउने हो । जे आए पनि यसमा प्रमाण र तथ्यमा आधारित हुन्छ । हामी बोल्नेभन्दा पनि हाम्रो प्रमाण बोल्छ,’ उनी भन्छन् ।

तोकिएकै समयमा प्रतिवेदन बुझाइने

समितिले तोकिएकै समयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । अहिले त्यहीअनुसार काम भइरहेको समितिले बताएको छ । काम सुरु गरेको दिनबाट समितिलाई १५ दिनको समय दिइएको थियो । अहिले एक हप्ताको समय बितिसकेको र अबको बाँकी समयमै प्रतिवेदन बुझाउने गरी काम गरिएको समितिले बताएको छ ।

‘तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी काम गरेका छौं । तलमाथि केही नभएर यही स्पिरिटमा गयो भने तोकिएकै समयमा प्रतिवेदन बुझाउँछौं,’ अध्यक्ष भण्डारीले भने ।

गुरुङ मन्त्री हुँदा उठेका विषयका साथै राय–सुझावसहितको प्रतिवेदन समितिले पेस गर्नु पर्नेछ ।

के हो सुधनमाथिको आरोप ?

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।

राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो ।

अबको गृहमन्त्री को ?

शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर तालिमका क्रममा घाइते भएका प्रशिक्षार्थी जवानहरूलाई भेटेपछि धेरैले पुन: गुरुङ नै गृहमन्त्री बन्न लागेको आशंका गरेका छन् । उनी अहिले छाया गृहमन्त्रीको हैसियतमा बलम्बु पुगेको हुन सक्ने आशंका पनि गरिएको छ ।

तर, त्यसो नभएर गुरुङ एउटा मानवीय नाताले त्यहाँ पुगेको उनको सचिवालयले बताएको छ । तालिम गर्दागर्दै बेहोस भएको समाचार सार्वजनिक भएपछि निकै दु:ख लागेको भन्दै पूर्वमन्त्री गुरुङ फलफूल बोकेर बिरामी भेट्न अस्पताल पुगेका थिए ।

त्यहाँ उनले बिरामीको बारेमा जानकारी लिनुका साथै आफूले व्यक्तिगत रूपमा गर्नुपर्ने केही सहयोग भए गर्न पनि तयार रहेको बताएको सशस्त्र प्रहरी स्रोतले बतायो । उनले अस्पतालका निर्देशकसँग पनि बिरामीको बारेमा जानकारी लिएका थिए ।

गुरुङमाथि छानबिन नसकिएको र महिना बित्दा पनि गृहमन्त्री नियुक्त नगरिनुले अब गृहमन्त्री को बन्छ भन्ने चासोका साथ हेरिएको छ । यसबारे रास्वपाले अहिलेसम्म केही निर्णय गर्न सकेको छैन । निर्णय नगर्नु र छानबिनसमेत नसकिनुले गृहमन्त्रीमा पुन: गुरुङ नै आउने सम्भावना रहेको आकलन पनि गरिएको छ ।

यदि छानबिन समितिले उनलाई निर्दोष ठहर गरेको अवस्थामा पुन: गृहमन्त्री बन्ने सम्भावना कायमै रहेको रास्वपाका नेताहरू पनि स्वीकार्छन् । तर यसका लागि अन्तिम निर्णय भने प्रधानमन्त्री बालेन शाहको हातमा रहेको उनीहरूको बुझाइ छ ।

यसअघि पनि बालेनकै रोजाइमा गुरुङ गृहमन्त्री बनेकाले छानबिन समितिबाट सफाइ पाएको अवस्थामा बालेनले पुन: गुरुङलाई नै गृहमन्त्री बनाउने सम्भावना कायमै रहेको बताइन्छ ।