४० कटेसी रमाउने होइन, जीवनशैली सुधार गर्ने हो

जब तपाईँको उमेर ४० प्लस पुग्छ, निश्चित संकेतहरू देखिएको हुन्छ । कोलेस्टेरोल बढ्न थालेको हुन्छ, सुगर चाहिँ प्रि–डाइबिटिजको अवस्थामा हुन्छ । प्रेसर तल–माथि हुन थाल्छ ।

नेपालीको सरदर आयु बढ्दो छ । तीन दशक अगाडि २०४८ मा नेपालीको औसत आयु ५४.३ वर्ष मात्र थियो । अहिले १७ वर्ष बढेर ७१.३ पुगेको छ ।

कुनै व्यक्तिको सरदर बाँच्ने अवधिलाई औसत आयु मानिन्छ । बालमृत्युदरमा सुधार, स्वास्थ्य उपचारको पहुँच जस्ता कारणले मृत्युदर घटाएको छ । औसत आयु बढाएको छ । यो आगामी दिनमा अझ बढेर जान्छ ।

अबको दुई दशकमा कुल जनसंख्याको २५ प्रतिशत नागरिक ६० प्लसको हुन थाल्छ । यो भनेको हरेक चारमा एक जना ज्येष्ठ नागरिक हुनु हो । औसत आयु बढ्नु सुखद् हो, तर यसले भार पनि लिएर आउँछ ।

किनकी कबुढौलीका लागि पैसा चाहिन्छ । लामो समय हेरचाहका लागि स्रोतसाधन तथा पूर्वाधार चाहिन्छ । केयर होम चाहिन्छ । अस्पतालहरूमा त्यस्तै सेवा सुविधा चाहिन्छ । रिह्याबिटेसन सेन्टरहरू चाहिन्छ । हामी जस्ता (जेरियाट्रिसियन) डाक्टरहरू चाहिन्छ, नर्सहरू चाहिन्छ । केयर गिभर्स चाहिन्छ । यो सबै विकास गर्न वर्षौं लाग्छ ।

अहिलेका धनी देशका लागि सहज के भयो भने औसत आयु ८० प्लस हुन र एजिङ सोसाइटी हुन सयौं वर्ष लागेको थियो । बिस्तार–बिस्तारै आवश्यक तयारी गर्दै गए, मानिसहरू पनि सँगसँगै बुढो हुँदै गए ।

तर हामी धनी हुनु भन्दा पहिले नै बुढो हुन्छौं । त्यसैले हामीले अहिले नै काम गर्न थालेनौं भने भ्याउँदैनौ । पाँच वर्ष गरेनौं भने ढिला हुन्छ । स्वस्थ बुढ्यौलीका लागि काम गर्ने यो उपयुक्त समय हो ।

स्वस्थ बुढ्यौली के हो ?

स्वस्थ बुढ्यौली विश्व स्वास्थ्य संगठनले समेत प्राथमिकतामा राखेको अवधारणा हो । पहिला यसलाई ‘एक्टिभ एजिङ’ भनिन्थ्यो, अहिले ‘हेल्दी एजिङ’ भनिन्छ ।

उमेर ६० प्लस भइसक्यो, शरीरमा रोग पनि छ तर त्यो नियन्त्रणमा छ, तपाईँलाई हिँडडुल गर्न गर्न गाह्रो छैन, आफूलाई मन लागेको काम गर्न पाउनुभएको छ भने यही हो स्वस्थ बुढ्यौली ।

स्वस्थ बुढ्यौलीका लागि सबैभन्दा पहिला आफैंबाट सुरुवात गर्नुपर्छ । त्यो पनि ६० वर्षदेखि होइन, ४० प्लस भएपछि । किनकि ४० देखि ५० वर्षको उमेर स्वास्थ्यका दृष्टिकोणले धेरै जोखिमयुक्त समय हो ।

४० कटेसी रमाउने होइन, खुसी हुने

४० देखि ५० वर्षको उमेर भनेको यस्तो समय हो, यो बेलामा मानिसहरूले धेरथोर कमाउन थालिसकेको हुन्छ । आफूसँग पनि पैसा हुन्छ, मानिसहरूले पनि बोलाउन थाल्छन् । मोजमस्ती गर्न सुरु हुन्छ । त्यसैले तपाई हाम्रो वरिपरि हेर्नुभयो भने ४० देखि ५० वर्षका मान्छेको टुम्म भुँडी लागेको दुख्नुहुन्छ ।

नेपालीमा एउटा चर्चित गीत नै छ, …साइली ४० कटेसी रमाउँला । त्यो गीतले पैसा कमाएर ४० कटेपछि रमाउँला भन्न खोजेको होला । किनकि नेपाली समाजको मनोविज्ञान यही छ । तर ४० कटेपछि रमाउने होइन, खुसी हुने हो ।

आफ्नो लाइफ स्टाइल मेन्टेन गर्ने हो । किनभने हामी बाँच्ने ६० वर्ष मात्र त होइन, ८५-९० प्लसको टार्गेट छ ।  कुनै दुर्घटना भएन, ठूलो रोग लागेन भने धेरै जना ९० प्लस सम्म पुगिहाल्छन् ।

त्यसका लागि ४० प्लसदेखि सचेत हुनुपर्छ । ६० नाघेपछि गर्ने भनेको त स्वास्थ्य थप बिग्रन नदिने हो । आफ्नो राम्रो ख्याल राख्ने हो ।

जब तपाईँको उमेर ४० प्लस पुग्छ, निश्चित संकेतहरू देखिएको हुन्छ । कोलेस्टेरोल बढ्न थालेको हुन्छ, सुगर चाहिँ प्रि–डाइबिटिजको अवस्थामा हुन्छ । प्रेसर तल–माथि हुन थाल्छ ।

भोलि बिर्सिने रोग लाग्न सक्ने मानिस छ भने उसले अलिअलि समस्या फेस गर्न थालेको हुनसक्छ । यसको अर्थ भोलि गएर सबै डिमेन्सियामा कन्भर्ट हुन्छ भन्ने होइन । तर संकेतहरू देखिन्छ ।

त्यसैले हामी प्रि–भेन्टिभ मोडमा जानुपर्छ । सानोतिनो रोग छ भने सल्टाउनुपर्छ, सबै कुरा मेन्टेन गर्न थाल्नुपर्छ ।

के–के  जाँच गर्ने ?

४० कटेपछि एकदम डिपमा गएर चेक गर्नु पर्दैन । अहिले चलिराखेको जुन रुटिन चेकअप छ, त्यो वर्षमा एक पटक गरौं । यदि तपाईंले ४० प्लस भएपछि प्रिभेन्टिभ मोडमा जानुभयो भने ६० कट्नासाथ त्यो रोग आउँदैन । आइहाल्यो भने पनि तपाईँको उमेर ७५–८० तिर गएर आउला ।

अहिले हामी कहाँ हेर्ने हो भने ५० देखि ६० वर्षको उमेरमा नै रोगहरू डाइग्नोसिस हुन थाल्छ । त्यही कारण अहिले समुदायमा हेर्नुभयो भने यो उमेरमा धेरैले नियमित औषधि खान थालेका हुन्छन् ।

६० प्लसमा गएपछि चाहिँ रुटिङ चेकअपका अतिरिक्त ज्येष्ठ नागरिकले गर्नुपर्ने विशेष खालको जाँच पनि गरौं ।

मेरो दिमागी अवस्था कस्तो छ ? मेरो शारीरिक अवस्था कस्तो छ ? भनेर चेक गरौं ।

लड्ने डर छ कि छैन ? अलिअलि बिर्सिन लागेजस्तो भएको छ भने डिमेन्सियातिर जाने खालको बिर्साइ हो कि होइन भनेर चेक गरौं ।

मेरो पोषणको अवस्था के छ ? खानपान पुगेको छ कि छैन भनेर चेकअप गर्नुपर्छ । अहिले केही समस्या रहेनछ भने गजब । केही समस्या रहेछ भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर लाग्नुपर्छ ।

म त ठीकै छु, किन चेक गर्ने भन्ने पनि लाग्नसक्छ । मानसिक स्वास्थ्य जाँच गर्नुलाई समाजमा ग्लानीको रूपमा लिने गरिन्छ । हामी अस्पताल जानुलाई सामान्य मान्छौ तर मानसिक स्वास्थ्य सम्बन्धी परामर्श मात्र गर्नुपर्‍यो भने पनि अप्ठ्यारोमा मान्छौं । ज्येष्ठ नागरिकसम्बन्धी जाँच गर्दा पनि यस्तो सोचाइ हुन सक्छ ।

त्यस्तो छ भने आजै हटाउनुस् । ६० प्लसका हरेक जेष्ठ नागरिकहरूले नियमित चेकअप त गर्नैपर्छ । जेरियाट्रिक सेन्टरहरूमा गएर विशेष जाँच गर्नुपर्छ ।

यसलाई अझ सजिलो भाषामा भन्छु, हामी सानो बच्चालाई बालरोग विशेषज्ञ कहाँ लिएर जान्छौं । कुनै–कुनै बच्चाको तौल कम हुन्छ, कुनै–कुनैको दिमाग विकास नभएको हुनु सक्छ । त्यो थाहा पाउन डाक्टरले टाउको नाप्छन्, तौल लिन्छन्।

ज्येष्ठ नागरिकको हकमा पनि यही हो । यदि तपाईँ जेरियाट्रिक सेन्टरहरूमा जानुभयो भने त्यहाँ विशेषज्ञ डाक्टरहरू हुन्छन् । उनीहरूले बढ्यौलीमा हुनसक्ने रोगहरू छ/छैन भनेर चेकजाँच गर्छन् । परामर्श दिन्छन् । यदि हामी जब रोगले सताउँछ, त्यसको मात्र उपचार गरेर बस्ने हो भने जीवन यसमै जान्छ । होइन भने आफैं सचेत बनौं, आजदेखि स्वस्थ्य बुढ्यौलीका लागि काम गरौं ।