
भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्रमा विद्यालयलाई सबैको बनाउन के गर्न सकिएला भन्ने बिषयमा चर्चा गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा मेरो विद्यालय, मेरो दायित्व कार्यक्रममा आज शिक्षा क्षेत्रको सुधारका बिषयमा चर्चा गरिएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले शिक्षा क्षेत्रको सुधार आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । पछिल्लो समयमा राम्रो नतिजा ल्याउने शिक्षक र बिध्यार्थीलाई सम्मान कार्यक्रम समेत राखिएको बताउँदै उहाँले नतिजा राम्रो बनाउने उद्देश्यले खराब नतिजाको कारण समेत खोज्न थालिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पाल्पाबाट आउनुभएका सहजकर्ता जिवन ले हामीले विद्यालयलाई लामो समय व्यवस्थापन समिति, शिक्षक वा बिध्यार्थीको रुपमा रहेका व्यक्तित्वलाई शिक्षा र विद्यालयको विकासमा प्रयोग गर्न के गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गर्नुभएको थियो । उहाँले विद्यालयले पुर्व बिध्यार्थी, पुर्व शिक्षकहरुलाई बिशेष कार्यक्रममा मात्रै सम्झने गरेको भन्दै त्यत्ती मात्रले विद्यालयको थप विकासमा उनिहरुको क्षमता प्रयोग गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, वडा अध्यक्षहरु हरि प्रसाद ज्ञवाली, रोमनाथ पौड्याल, गाउँपालिका भित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले गर्नुभएको थियो ।

