चन्द्रकोट २ मा प्रथम वडा अध्यक्षकप सुरु, सांसद खरेलद्धारा उद्घाटन


गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ मा आजबाट प्रथम वडा अध्यक्ष कप तथा विविध सम्मान कार्यक्रमको शुभारम्भ भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सुलभ खरेलले गुल्मीसँग आफ्नो पुस्तादेखिको सम्बन्ध रहेको बताउँदै गुल्मीको विकासमा पनि आफ्नो योगदान रहने बताउनुभयो। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “गुल्मीको माटो र पानीमा पनी केही खास कुरा रहेकैले संयुक्त राष्ट्रसंघ देखी देशका बिभिन्न क्षेत्रको नेतृत्वदायी भुमिकामा गुल्मेली पुगेका छन्” । आफू र आफ्नो पार्टीले देश र देशका नागरिकको शिर उच्च राख्ने गरी काम गरिरहेको समेत उल्लेख गर्नुभयो।
आजबाट सुरु भएको वडा अध्यक्ष कप प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिताको समापन २८ गते हुने वडा अध्यक्ष कमल केसीले बताउनुभयो। आजको उद्घाटन सत्रमा गाउँपालिकाको वडा नम्बर २ मा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तिहरूको सम्मान समेत गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका उत्कृष्ट शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सेवानिवृत्त कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र उत्कृष्ट किसानहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसी खत्रीले विभिन्न वडाहरूका बीचमा हुने सकारात्मक प्रतिस्पर्धाले गाउँपालिकाको विकासमा उल्लेख्य भूमिका खेल्ने भन्दै सकारात्मक प्रतिस्पर्धा आवश्यक रहेको समेत बताउनुभयो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मीसमेत रहनुभएका भुवन भुसालले गर्नुभएको थियो।