
भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र रिडिमा माघ महास्नान हुने भएको छ । नेपालकै चारधाम मध्यको एक रुरुक्षेत्रलाई बिष्वभर चिनाउन र धार्मिक पर्यटक मार्फत आर्थिक गतिविधी बढाउन कार्यक्रमको आयोजना गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
महास्नानको प्रचारप्रसार र महत्व बढाउन सोमबार रिडीमा लुम्बिनी प्रदेशको पर्यटन बिकास परिषदको बैठक समेत बसेको छ । बैठकका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री तुलसी प्रसाद चौधरीले लुम्बिनी प्रदेशकै महत्वपुर्ण क्षेत्र रुरुलाई प्रचारप्रसार गर्नु र महास्नानलाई सफल बनाउनु प्रदेश सरकारको कर्तव्य भएकाले हरेक खालको सहयोग गर्ने बताउनुभयो । उहाँले संसारका सबैदेशका धार्मिक पर्यटक आउने आस्थाको केन्द्र बनाउनको लागी रिडीमा साहाकारी भोजनालय सहितको सुबिधा सम्पन्न होटलहरु हुनुपर्ने भएकाले स्थानिय होटल व्यवसायी सचेत बन्नुपर्ने पनी बताउनुभयो ।
मन्त्रालयका सचिव प्रमोद भट्टराईले बैठकका निर्णयहरु सार्वजनिक गर्दै महास्नान सफल बनाउन सबै लाग्नेगरी निर्णय भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले अन्तरप्रदेश समन्वय गरेर देशकै महत्वको कार्यक्रम बनाउन पहल गर्ने पनी बताउनुभयो ।
माघ १ गते देखी २९ गतेसम्म चल्ने महामेलामा कालिगण्डकीमा स्नान, धार्मिक गुरुहरुको प्रवचन एवं सत्संग, धार्मिक अनुष्ठान, भजन प्रतियोगिता, कबिता प्रतियोगिता लगायतका रुरुक्षेत्र प्रर्वद्धनात्मक कार्यक्रमहरु हुने बताईएको छ ।

